काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल बनाउने स्पष्ट पारेका छन् । उनले भने, ‘मोदीजीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्, हामी सफल बनाउँछौं ।’


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले मोदीको भ्रमण सफल बनाउन सरकार पूर्ण रुपमा लागिपर्ने बताएका हुन् । उनले भने, ‘विगतमा नेपालका प्रधानमन्त्रीहरु दिल्ली जाने परम्परा थियो, तर भारतका प्रधानमन्त्रीहरु अहिले नेपाल आउन थाल्नुभएको छ, अहिले भ्रमणहरु दोहोरो हुन थालेका छन्, यो सुखद् पक्ष हो ।’


ADVERTISEMENT

# # #


साक्षात्कारमा मोदीको भ्रमणबाट नेपालले आफ्नो हितमा फाईदा लिनुपर्ने बताउँदै उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्वादहरु उच्च तहमा पनि सुरु भएको जनाए ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए । यद्धपी उनले भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने काम चाहीँ सरकारको भएको प्रतिक्रिया दिए ।

नेता साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिए । उनले थपे,‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुनेथियो, काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुनेथियो, किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ, जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ।’

यता राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । नेपाल र भारतबीच ऐतिहासिक र अटुट सम्बन्ध रहेको बताउँदै मोदी दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झनै मजबुद बनाउनको लागि जनकपुर भ्रमण भएको नेता सुमनले विश्वास दिलाए ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति हुन्, उहाँ नेपाल आउनुको कारण नेपाली भुमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् ।’
डा. दिक्षितले मोदीले नेपालको अहित हुने काम गर्नै नसक्ने पनि ठोकुवा गरे ।