काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ ।
दिवसको अवसरमा काठमाडौंको ह्याम्स अस्पतालले वाकाथन कार्यक्रम गरेको छ। अस्पतालबाट निस्किएको र्याली धुम्बाराही, सुकेधारा हुँदै नारायणगोपाल चोक पुगेर पुनः अस्पतालमै आएर टुंगिएको थियो।
प्रभातफेरीपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेह रोग विशेषज्ञ डा विनय भट्टराईले मधुमेहका बिरामीले यस रोगलाइ बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । धेरै जसोमा लक्षण नै नदेखिने हुँदा नियमित सुगर परीक्षण गर्नमा उनले जोड दिए । उनले मधुमेहलाई बेलैमा उपचार नगरे थप जटिलता ल्याउने हुँदा यसमा बेलैमा सजग हुन पनि आग्रह गरे ।
कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक, विभिन्न विभागका चिकित्सक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जुन सन् १९८० को तुलनामा निकै उच्च हो।
मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधिको कमीले मधुमेहको दर विश्वभर बढिरहेको जनाइएको छ। स्वस्थ आहार, नियमित व्यायाम तथा धूमपान–मद्यपानबाट टाढा रहनु मधुमेह रोकथामका प्रभावकारी उपाय मानिन्छन्।






























































