काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।
काठमाडौँलाई सुरुवाती जित दिलाउने क्रममा बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै आकाश त्रिपाठीले ३९ रनको योगदान दिँदा मिलिन्द कुमारले १९ र जोन सिम्प्सनले १३ रन जोडे ।
बलिङतर्फ जनकपुरका किशोर महतो, कप्तान अनिल शाह, ललित राजवंशी, निकोल जोन लफ्टी इटन र सञ्जय कृषमूर्तिले समान १–१ विकेट हात पारे । यसअघि ब्याटिङतर्फ जनकपुरका ओपनर आशिफ शेखले एनपील दोस्रो संस्करणको पहिलो अर्धशतक बनाए । उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
यस्तै मयन यादवले २९ बलमा ३४ रन बनाए भने लाहिरु समाराकूनले २१ बलमा २२ रन जोडे । उनीहरुले छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गरेपछि जनकपुरको इज्जत जोगियो ।
ब्याटिङतर्फ काठमाडौँका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ४ ओभरमा १५ रन मात्रै खर्चिए । यस्तै साहब आलम, करण केसी र सन्तोष यादवले समान १–१ विकेट लिए ।
एनपीएल अन्तर्गत भोलि पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । २७ दिनसम्म चल्ने एनपीएलमा ८ टोली भिड्दैछन् ।



























































