काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १४८ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि काठमाडौँद्वारा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमका लागि अन्य ब्याटरले संघर्ष गरिरहँदा मध्यम स्कोर बनाउने क्रममा हरमित सिंहले शानदार ब्याटिङ गरे । त्यसक्रमा उनले मात्र २० बलमा २ चौका र ५ छक्का ठोक्दै सर्वाधिक ५३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्काको मदतमा ३९ रन बनाए । यस्तै आरिफ शेखले २५ रन बनाउँदा इशान पाण्डे ११ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । सो क्रममा उनले ३० रन खर्चिए । यस्तै सन्नी पटेल, राशिद खान र मिलिन्द कुमारले समान २–२ विकेट हात पारे । काठमाडौँले जवाफी ब्याटिङ गर्दैछ ।

पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँले आज रनरअप सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा हरेको छ । यता सुदूरपश्चिम भने काठमाडौँविरुद्ध जित निकाल्दै प्रतियोगितामा सकारात्मक सुरुवात गर्ने योजनामा रहेको छ ।