काठमाडौं– नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले पार्टीको ‘नाङ्लो पसल’ नखोल्ने र ‘भक्तहरुको स्वामी’ नबन्ने बताए ।
उनले भने, पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको छ ।
आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुले केबल एक थान पार्टी मात्र नबनाउने बताए ।
‘केबल एक थान पार्टी मात्र बनाउने छैनौं, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन,’ तत्कालीन माओवादी केन्द्रका नेता किरातीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजार–हजार हजार भक्तहरूलाई निर्माण गर्नु छैन ।’
आफूहरू जनताको सेवामा लाग्ने उनले बताए । ‘जनताको सेवा गर्ने, आजको समस्याको समाधान गर्ने, त्यो विचार विधिसहितको नेतृत्व र त्यो शक्ति खोजेका छौं ।’


























































