काठमाडौं– नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि १ सय अंकित दरका २१ लाख ६ हजार कित्ता साधारण शेयर (आईपिआ) निष्काशन गर्ने भएको छ।


ADVERTISEMENT


यसको मूल्य १ करोड ६ लाख रुपैयाँ बराबर हुनेछ, जुन कम्पनीको कुल सेयर संरचनाको २० प्रतिशत हो।


ADVERTISEMENT

# # #


शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतापत्रमा नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले मंसिर ७ गते, नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार निकट भविष्यमा साधारण शेयर सार्वजनिक गर्न तयारी थालिएको कम्पनीले जनाएको छ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अनुसार प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड तथा हेज फण्डको कोष व्यवस्थापकको रूपमा संचालन गर्न इजाजत प्राप्त कम्पनी हो।

साथै बुक बिल्डिङ विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ताका रूपमा समेत अनुमतिप्राप्त छ।

कम्पनीले हाल “नेशनल इक्विटी फण्ड–१” (विविधिकृत प्राइभेट इक्वीटी फण्ड) र “नेशनल हाईड्रो फण्ड–२” (ऊर्जा क्षेत्रकेन्द्रित प्राइभेट इक्वीटी फण्ड) सञ्चालन गर्दै आएको छ।

क्रेडिट रेटिङ संस्थाबाट उच्च रेटिङ प्राप्त यस कम्पनीमा सरकारी संस्थाहरूको करिब २७ प्रतिशत लगानी रहेको छ।

साथै विभिन्न बैंक, वित्तीय संस्था तथा एनआरएनहरू (गैर आवासीय नेपाली) को समेत महत्वपूर्ण लगानी छ। कम्पनीले विगत तीन वर्षदेखि नियमित रूपमा लाभांश वितरण गर्दै आएको उल्लेख गरिएको छ।