सप्तरी — जिल्लामा ठूलो परिमाणको अवैध रासायनिक मल बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको प्रेश विज्ञप्तिअनुसार १३४ बोरा डिएप मल हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित इनर्वा चौकमा एउटा गोदामबाट नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT


मंगलबार दिउँसो करिब २ बजे प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल नं. ६ गण गोरगमा तथा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले धर्मेन्द्र जैनको पुरानो राइस मिल गोदाममा खानतलासी गरेको थियो। गोदाम धर्मेन्द्र दासले भाडामा लिएर सञ्चालन गरिरहेको बताइएको छ।


ADVERTISEMENT

# # #


खानतलासीका क्रममा ५०–५० किलो तौलका १३४ बोरा डिएप मल लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सबै मल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मल भण्डारण र बिक्री वितरणसम्बन्धी कानुनी प्रावधान विपरीत गतिविधि भइरहेको आशंकामा आवश्यक प्रक्रिया अघि बढाइएको छ।