काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सधैँ आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


उनले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । ‘प्रधानमन्त्रीका रुपमा नेपालमा यो मेरो तेस्रो भ्रमण हो । यसले पनि प्रष्ट गर्छ कि नेपाल सँधै हाम्रो प्राथमिकतामा छ । द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’ उनले लेखेका छन्,


ADVERTISEMENT

# # #


यस्तै उनले लगातारको उच्चस्तरीय भ्रमणले आफ्नो सरकारको ‘छिमेक पहिलो’ नीति प्रष्ट पारेको बताएका छन् । नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताएका छन् ।

उनले भनेका छन्, ‘संविधान निर्माणपछि नेपाल नयाँ युगतर्फ गइरहेको छ । लोकतन्त्रको फाइदा उठाएर तीव्र आर्थिक विकास गर्नका लागि नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणामा भारत एक स्थायी सहयात्री बन्नेछ ।’

यस्तै उनले आफ्नो यो नेपाल भ्रमणले दुई देशबीचको पारस्परिक लाभ र सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौं आउनेछन् भने पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम छ ।