काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै मंसिर ८ कै गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा विश्व अधिकारी र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) ई. राम कुमार चौधरी बढुवा भएका थिए ।

उनीहरु तीनै जनालाई आईजीपी कार्कीले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्नले सुशोभित गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास गरे ।

प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताए । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।