काठमाडौं — भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ।
कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल ६ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागिएको जनाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
मंसिर १० गते कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।


























































