काठमाडौँ – नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबीच एकताको घोषणा गरिएको हो । नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको एकताको आधार तथा प्रक्रिया सहमतिपत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरुको असफलताका कारण जनेजी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधिक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताए ।
राजनीतिको चूलीमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केही नेताहरुको कारणले राजनीति डरलाग्दो सुरुङतर्फ अघि बढको भन्दै उनले यसमा कम्युनिष्ट आन्दोलनकै नेताहरु छन् भन्ने कुराले ग्लानी र खेद रहेको उल्लेख गरे । उनले पार्टी थप्नका लागि नभइ नयाँ धारा निर्माण गर्न खोजिएको तर्क गरे । ठूला भनिएका पार्टीहरुका नेताहरु मूलभूत रुपमा दलाल पूँजीवादसंग बिकिसकेको उनले बताए ।
त्यस्तै नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरुलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफू तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसंग एकताको निर्णय गरिएको बताए । देशलाई नयाँ बाटो दिने बौद्धिक वर्गलाई बाहिर रहेकाले उनीहरुलाई देशलाई फर्काएर मलुकलाई विकासको बाटोतर्फ अघि बढाउने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।
जोशीले मजदुर आन्दोलनबाट कम्युनिष्ट विचारधारा स्थापित भएपछि अहिले नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो मूलमन्त्रबाट अलगजस्तो देखिएको धारणा राखे । दुईदलबीचको सहमतिपत्रमा सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने उल्लेख गरिएको छ ।


























































