काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर हुँदै दुई दिने भ्रमणका लागि काठमाडौं आउने कार्यक्रम छ । मोदी शुक्रबार बिहान ९ बजे जनकपुर पुग्ने र जानकी मन्दिरको दर्शनसँगै बाह्रविघा मैदानमा हुने नागरिक अभिनन्दनपछि दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका सुरक्षा संयन्त्रसँग छ ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आएपछि दुई दिन राजधानीको यातायात प्रभावित हुनेछ । शनिबार सार्वजनिक बिदा भएकाले सर्वसाधारणलाई सास्ती केही कम भए पनि शुक्रबार जनजीवन प्रभावित हुनेछ ।


ADVERTISEMENT

# # #


सुरक्षा स्रोतका अनु्सार शुक्रबार र शनिबार मोदी सवार हुने स्थानका सडकहरु पहिले नै पूर्णरुपमा खाली गरिनेछ । मोदी सवार नहुने रुटमा भने यातायात सहज रुपमा चल्नेछ । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै वौद्धस्थित होटल हायात जानेछन् ।

हायात होटल पुग्ने रुटमा गौशाला, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा चल्ने सवै सवारीसाधन रोकिनेछन् । होटलमा केही समयको विश्रामपछि मोदी अपरान्ह ४ बजे गार्ड अफ अनर ग्रहणका लागि सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम छ । त्यतिबेला चावहिल, गौशाला, नयाँ बानेश्वर, तीनकुनेलगायत रुटमा पूर्णरुपमा सडक खाली गराइनेछ । शुक्रबार नै साढे ४ बजे मोदी उपराष्ट्रपनि नन्दबहाुर पुनलाई भेट्न उपराष्ट्रपति भवन जाने कार्यक्रम छ । त्यतिबेला रत्नपार्क हुँदै दरबारमार्ग र जमल क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । उपराष्ट्रपतिसँगको भेटपछि मोदी त्यहीँबाट राष्ट्रपति निवास महाराजगञ्ज जाने कार्यक्रम छ ।

मोदी त्यो रुटमा सवार हुँदा लैनचौर, महाराजगञ्ज क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि मोदी महारागञ्ज, चाबहिल हुँदै बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्न जाने कार्यक्रम छ । शनिबार बिहान मोदी काठमाडौंबाट मुक्तिनाथका लागि प्रस्थान गर्नेछन् । त्यसक्रममा उनी विमानस्थल जाँदा पनि सो क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ ।

शनिबार बिहान साढे १० बजे मोदी मुक्तिनाथबाट काठमाडौं फर्किने र त्यसपछि पशुपतिनाथ दर्शन गरेर होटल हायात जाने तालिका रहेको बताइएको छ । त्यतिबेला गौशाला हुँदै हायातसम्मको रुटमा सवारीसाधन चल्नेछैनन् । त्यसपछि मोदी शनिबार दिउँसो साढे एकदेखि दुई बजेको बीचमा काठमाडौं महानगरपालिकाले गर्ने अभिनन्दनको लागि चावहिल, तीनकुने, बानेश्वर, माइतीघर हुँदै राष्ट्रिय सभागृह पुग्ने कार्यक्रम छ । मोदी शनिबार ४ बजे स्वदेश फिर्ता हुनेछन् ।