काठमाडौँ – नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने भएको छ । दुई महिना लामो छलफल र बहसपछि अन्ततः आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै काँग्रेस नयाँ महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो ।
सोमबार सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकले १५ औँ महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘नेपाली काँग्रेसको १५औँ महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुनेगरी कार्यतालिका पेश भयो र त्यो सर्वसम्मत्तिले अनुमोदन भयो ।’
प्रवक्ता महतले मंसिर २० गतेभित्रै क्रियाशील सदस्य, नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गर्ने, जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि मंसिर २४ गतेका लागि तय गरिएको बताए ।
यस्तै पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रभित्र नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने काँग्रेसले तालिका प्रस्तुत गरेको छ । क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नयाँ र नवीकरणका निर्णय उपर अन्तिम निर्णय गरी पुस १४ गतेभित्र अन्तिम सूची तयार सभापतिलाई बुझाउने उनले बताए ।
महाधिवेशनबारे दुई महिनादेखि अनिर्णयको बन्दी बनेको केन्द्रीय सदस्यको बैठकले अन्ततः सभापति शेरबहादुर देउवाको हस्तक्षेप गरेपछि मात्रै आवश्यक निर्णयमा पुगेको हो । संस्थापन पक्षका नेताहरु निर्वाचन अघि नै महाधिवेशनमा जान नहुने पक्षमा थिए । तर, देउवाको हस्तक्षेपपछि भने उनीहरु निर्णय मान्न बाध्य भएका हुन् ।
काँग्रेस महाधिवेशन कार्य तालिका :
गाउँ नगर र वडा अधिवेशन : पुस १६ गते,
गाउँ नगरपालिका अधिवेशन : पुस १७ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन : पुस १९ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
– एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन
– पुस २१ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका पुस २२ गते
प्रदेश अधिवेशन (सातै प्रदेशको) : पुस २३ र २४ गते
केन्द्रीय महाधिवेशन : पुस २६, २७ र २८ गते


























































