काठमाडौँ – नेपाली यू–१९ टोली युएईमा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा उपविजेता बनेको छ ।
सोमबार भएको फाइनल खेलमा घरेलू टोली यूएईसँग २७ रनले पराजित भएपछि उपाधि जित्नबाट चुकेको हो । यससँगै नेपाल एसीसी यू–१९ एशिया कपमा छनोट हुन सफल समेत भएको छ ।
सोमबार युएईएको अजमानस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । १४८ रनको सामान्य चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङ थालेको नेपाल ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमै समेटिएको हो ।
नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । यस्तै रोशन विश्वकर्मा र आशिश लुहारले समान २५–२५ तथा वंश क्षेत्रीले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा योग जै शर्मा, अलि अस्गर सुम्सले समान २–२ विकेट लिए भने उदिस सुरी र नूरउल्लाह अयुवीले समान २–२ विकेट हात पारे ।
यसअघि ब्याटिङतर्फ युएईका अहमद खुदादतले सर्वाधिक ७१ रन बनाए । यस्तै नूरउल्लाह अयुवी २६ तथा आयान मुसाबले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए भने अपराजित पौडेलले २ तथा अशोक धामी र नितेश कुमार पटेलले समान १–१ विकेट हात पारे ।


























































