काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरुले गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकांक्षा बमोजिम वैैकल्पिक भनिएका शक्तिहरु एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन् । अहिलेका परिवर्तनलाइ परिणाममूखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए ।


ADVERTISEMENT

# # #


घिसिङले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्य रुपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे । सही व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेनजी आन्दोलनको अवस्था नआउने भन्दै उहाले सही व्यक्ति सहि स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने जिकिर गरे ।

ठूला–ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुन सक्ने भएकाले भाषण भन्दा परिणाममूखी काम गर्न सक्नुपर्ने उनले जोड दिए । उनले जेनजी आन्दोलनपछिको चुनौती स्वीकार गर्र्दै आफु सरकारमा सहभागी भएकाले आफूले पूर्णरुपमा जिम्मेवारी पूरा गर्ने बताए । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।

त्यस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा वैकल्पिक भनिने शक्तिहरु एकताबद्ध हुनुपर्ने भन्दै उनीहरुबीच विवाद भए निर्वाचनमार्फत पुरानै राजनीतिक दलहरू हाबी हुनसक्ने बताइन् । उनले मुलुकको अहिलेको आवश्यकता र जनताले चाहेको एजेण्डा पुरा गर्न उज्यालो नेपाल पार्टी गम्भीर हुनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले पार्टीको घोषणापत्र सार्वजनिक गरेका थिइन् । सो पार्टीले उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने लगाएतका एजेण्डा अघि सारेको छ ।