काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङ–२ की किशोरी अंशु गौतम हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै अंशु गौतम हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो । बलात्कारपछि अंशुको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले घटनाबारे किशोरीले आफन्तलाई बताइदिने डरले आरोपीले धारिलो हतियार प्रयोग गरी अंशुको हत्या गरेको अनुसन्धानबाट देखिएको खुलेको बताए । उनले लामो अनुसन्धान र मिहिनेतपछि अपराधीसम्म पुग्न सफल भएको र यसक्रममा ३ सय भन्दा बढिसंग सोधपुछ गरिएको जानकारी दिए । पक्राउ परेका अधिकारी विरुद्ध ज्यान सम्बन्धी र करणी सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाउने एसपी कटुवालले बताए ।
गत असोज २१ गते हराएकी अंशु गौतमको शप १८ दिन पछि कातिक ७ गते लेटाङ वडा नं. २ को बेलबारी चिसाङ साझेदारी वनमा सडेको अवस्थामा फेला परेको थियो ।
उनको हत्याको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रिय अनुसंधान व्युरो सिआईबीको छुट्टै टोलीले अपरेशन जस्टिस फर अंशु गौतम ज्याग नै संचालन गरेको थियो ।


























































