मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई विकासको पर्याय बनाउनुपर्ने बताए ।
सोमबार काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नदीले कटान गरेको बाटो निर्माणका लागि तत्कालै बजेट उपलब्घ गराउने परतिबद्धता जनाए ।
उनले पूर्वाधार विकास नहुँदासम्म नागरिकको आर्थिक जीवनस्तर माथि उठ्न नसक्ने बताएका छन् । सडक, पुल, बिजुलीजस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले परिवर्तनको अनुभूति गराउन सकिँदैन, उनले भने, त्यसैले मेरो नेतृत्वको सरकारको ध्यान पूर्वाधार विकासमा रहेको छ।
मुख्यमन्त्री बानियाँले यस क्षेत्रका नागरिकको जीवन सहज बनाउन सिक्रेदोभानको पुल र गत असोजमा बागमती नदीले कटान गरेको सात सयमिटर बाटो निर्माण गरिने बताए । त्यसअघि मुख्यमन्त्रीले सिक्रेदोभान पुलको अवलोकन गरी आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिएका थिए।
कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङलगायत पालिकाका कर्मचारीहरूको उपस्थिति थियो ।



























































