काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले रोगमुक्त समाज, निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको बताए ।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले कुनै नवजात शिशु कुपोषणको शिकार नबनुन्, उमेरजन्य कारणले लाग्ने दीर्घ रोगहरू जस्तै, सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायत असाध्य रोग लागेका नागरिकलाई सहज र सरल सेवा दिन सकियोस् भनेर प्रदेश सरकार काम गरिरहेको बताएका हुन् ।
शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको बताए ।
गणतन्त्र गरिबको व्यवस्था हो भन्दै उनले मुलुकमा लाभको अवस्थामा रहेको युवा शक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गरिने बताए ।
मुलुकभित्रै केही भएन भन्दै असन्तोषको खेती भइरहेको चर्चा गर्दै मुख्यमन्त्री बानियाँले त्यसलाई चिर्दै भइरहेका विकासका कामलाई नागरिकसमक्ष पुर्याउन लागिपर्नु पर्ने बताए । विकासका पूर्वाधारसँगै नागरिकलाई अर्थोपार्जन गर्ने सीप विकास र लगानीसमेत दिनुपर्ने काममा प्रदेश सरकार लागि परेको बताए ।
बाटो बनाइदिएर मात्र भएन, खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरूलाई सीप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ, हामी त्यसतर्फ अग्रसर छन्,ु मुख्यमन्त्रीले भने । विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरेले अवैधानिक र असंवैधानिक रूपमा संसद् भंग गरिएको भन्दै सरकार गठन समेत असंवैधानिक रूपमा गरिएको बताए । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनबीच पनि विकासका पूर्वाधार निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताए ।
पूर्वाधार विकाससँगै नागरिकलाई सीप विकासमा पनि ध्यान दिइएको अध्यक्षको भनाइ छ । नागरिकको आर्थिक समृद्धिका लागि पालिका भित्र कृषि, पशुपालन जस्ता क्षेत्र पहिचान गरी कार्यक्रम लागू गराइएको बनाए । सुविधाजनक बाटो नहुँदा विरामीले बाटैमा ज्यान गुमाउनु परिरहेको सन्दर्भहरू उल्लेख गरे । उनले सडक निर्माणमा प्रदेश सरकारसँग ठूलो भरोषा रहेको बताए ।
करिब १२ करोड रूपैयाँको लगानीमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे, संविधानसभा सदस्य मोहन बराल, नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराल लगायत सहभागी थिए ।






























































