काठमाडौँ – सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेश गरेको छ । मंगलबार भएको क्वालिफायर्स–१ मा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विरानगरले टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४.१ ओभरमा ७८ रनमै अल आउट भएको हो ।
विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । त्यसक्रममा उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै मर्चेन्ट डी लांगेले १५ र बासिर अहमदले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका अविनाश बोहरा, स्कट कुग्लेगाइन र हरमित सिंहले समान २–२ विकेट लिए । यस्तै हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे ।
सुदूरपश्चिमका लागि मध्यम स्कोर बनाउने क्रममा ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । त्यसक्रममा उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आरिफ शेखले १३ बलमा २ चौका र १ छक्कासहित २० रन बनाउँदा सेल्डन ज्याक्सनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३ तथा मुख्तर अहमदले १० रन जोडे । बलिङतर्फ विराटनगरका प्रतिश जिशी र मर्चेन्ट डी लांगेले समान २–२ विकेट लिए । यस्तै , सूर्य तामाङ र श्याम हिजलेटले समान १–१ विकेट लिए ।
८ टोलीले प्रतिस्पर्धा गरेको एनपीएलमा सुदूरपश्चिम अंक तालिकाको पहिलो र विराटननगर दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेका थिए । यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो र चौथो हुँदै इलिमिनेटरमा पुगेका थिए ।
आजको हारसँगै विराटनगरले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । त्यसका लागि उसले इलिमिनेटर–१ को विजेता टोलीसँग खेल्नुपर्ने छ । इलिमिनेटर–१ मा भोलि काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । उक्त खेलको विजेता टोलीले विराटनगरसँग बिहीबार खेल्नेछ ।



























































