काठमाडौँ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदका आकांक्षीहरुले आफूलाई अघि सारिरहेका छन् । यहीबीच एमालेकी नेतृ भगवती चौधरीले आगामी महाधिवेशनमा सचिव पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन् ।
परिवर्तित समयलाई सम्बोधन गर्न र समावेशी नेतृत्वमार्फत पार्टीलाई नयाँ दिशा दिन चौधरीलाई सचिवको उम्मेदवारका रुपमा प्रस्तुत गर्दा नयाँ सन्देश जाने भन्दै उनको पक्षमा पार्टीमा माहोल सिर्जना हुन थालेको हो ।
निर्वाचन सम्मुखमा रहेकाले एमाले महाधिवेशन प्रतिनिधिले स्थानीय स्तरमा भिजेका, अब्बल र राम्रो जनाधार भएका व्यक्तिहरुलाई पार्टीको नेतृत्व तहमा छनोट गर्ने बताइरहेका बेला सचिवका रुपमा चौधरी एक प्रमुख प्रत्यासीका रुपमा देखिएकी हुन् ।
को हुन् भगवती चौधरी ?
गत प्रतिनिधिसभाको निर्वाचन सुनसरी–३ मा नेपाली काँग्रेसका ‘हेभी वेट’ उम्मेदवार विजय गच्छदारलाई हराउँदै संसदीय राजनीतिमा सनसनी मच्चाएकी सुनसरीमा दशकौँदेखि राजनीतिमा सक्रिय छन् । उनी गएको प्रतिनिधिसभा निर्वाचनमा सर्वाधिक भोट ल्याउने १० जना उम्मेदवार एक हुन् ।
मधेशमा नेकपा एमालेको जनाधार मजबुत बनाउन निरन्तर क्रियाशील चौधरी उद्यमी समेत हुन् । मधेशमा महिला सशक्तिकरणका लागि लड्दै आएकी उनले महिलाको उत्थानका विभिन्न किसिमका कार्य गर्दै आएकी छन् ।
उनको फरवार्ड लघुवित्त वित्तीय संस्था, फरवार्ड मार्टले २ हजार भन्दा बढी महिलासहितका कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा हजारौँले स्वरोजगारका अवसर पाएका छन् ।
उनी विगत २५ वर्षदेखि ग्रामिण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) मार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित कार्यक्रममार्फत सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै आएकी छन् ।
मधेशमा ग्रामीण अर्थतन्त्र निर्माण र वित्तीय पहुँच स्थापनामा उनको विशेष योगदान रहेको छ । त्यसैले त उनी मधेशका हरेक महिलाको मनमा बसेकी छन् । उनलाई विभिन्न पार्टीका महिलाहरुले आफ्नै अभिभावक सरह मान्ने गर्छन् ।
गरिबको साहरा बन्ने गरेकी उनलाई अन्य पार्टीमा आबद्ध महिलाहरूले समेत उत्तिकै रुचाउने गरेका छन् । दोहोरो ‘मास्टर्स डिग्री’ गरेकी उनी पीएचडी सकाउने तरखरमा छिन् भने कयौँ अन्नर्राष्ट्रिय पुरस्कार समेत पाएकी छन् ।
एमालेको एघारौँ महाधिवेशनमा नीति र विचारमा नेतृत्व गर्ने नेताहरू संगठनमा उत्रेको देखिएको छ । तर, राजनीतिसँगै फरक तरिकाको सामाजिक क्षेत्रमा भिजेको र महिलासँग नजिक रहेर काम गर्दै महिला सशक्तिकरणमा योगदान पुर्याएको भन्दै महाधिवेशन प्रतिनिधिले चौधरीलाई एमाले पदाधिकारी देख्न चाहेका छन् ।
आदिवासी, जनजाति, थारु, सबै हिसाबले उनीजत्तिको नेतृत्वलाई पदाधिकारीमा समेट्न सकेमा जनतामा सकारात्मक सन्देश जाने उनीहरुको विश्वास छ ।



























































