काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको सम्वादका क्रममा अध्यक्ष ओलीले आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज पारिदिएको बताए । साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’
‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।
आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको ओलीको भनाइ छ । ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भनेका छन्, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’
उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो ।’



























































