काठमाडौं- नेपालमा दाइजो प्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण तथा लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘महिला शक्ति जागरण अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ।
आइतबार कल्किज्म रिसर्च एन्ड ट्रेनिङ सेन्टरको सहयोग तथा युवाहरूको सहकार्यमा सुरु गरिएको अभियानले महिला अधिकार, कानुनी सुधार र सामाजिक न्यायका विषयमा देशव्यापी सार्वजनिक बहस अघि बढाउने लक्ष्य लिएको जनाएको छ। अभियानकै अवसरमा दाइजो प्रथा अन्त्य र महिलामाथिको हिंसा नियन्त्रणका लागि पाँचबुँदे ‘कल्की कानुन’ प्रस्ताव पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा बोल्दै कल्किज्म रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा। उमाशंकरले नेपालको तराई क्षेत्रमा दाइजो प्रथा अझै गम्भीर सामाजिक समस्याका रूपमा रहेको बताए। दाइजोका कारण हरेक वर्ष धेरै युवतीले हिंसा, मानसिक यातना र ज्यान गुमाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यस्तो अमानवीय प्रथाको अन्त्यका लागि राज्य, समाज र नागरिक सबै एकजुट हुनुपर्नेमा जोड दिए।
उनले दाइजोमुक्त समाज निर्माणका लागि कानुनी कडाइसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउँदै पाँचबुँदे ‘कल्की कानुन’मार्फत दाइजो प्रथा उन्मूलन र समान खर्चको संस्कृतिलाई प्रोत्साहन गर्ने प्रस्ताव अघि सारिएको जानकारी दिए।
कार्यक्रममा अभिनेत्री तथा अभियन्ता रेखा थापाले नेपालमा सतीप्रथा अन्त्य भए पनि महिलाविरुद्धका विभेद र हिंसाका विभिन्न स्वरूप अझै कायम रहेको बताइन्। उनले देशमा विकास र समृद्धिका ठूला बहस भइरहँदा महिला अधिकार र समानताका विषय ओझेलमा पर्नु दुःखद भएको उल्लेख गर्दै महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यवहारमै परिवर्तन आवश्यक रहेको धारणा राखिन्।
त्यसैगरी, पूर्व मिस नेपाल उषा खड्गीले महिलासम्बन्धी धेरै कानुन बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्। कानुनलाई व्यवहारमा उतार्न राज्यका निकाय, नागरिक समाज र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
अभियानका आयोजकहरूले तीन वर्षभित्र नेपालबाट दाइजो प्रथा पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको घोषणा गर्दै यस अभियानमा सञ्चारमाध्यम, नागरिक समाज, युवा तथा सम्पूर्ण नागरिकलाई सक्रिय साथ र सहयोगका लागि आह्वान गरेका छन्। अभियानले दाइजोमुक्त, हिंसामुक्त र समानतामूलक समाज निर्माणका लागि देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



























































