काठमाडौं – राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खुम्चिएको, नागरिकका आधारभूत अधिकारसमेत कुण्ठित भएको आरोप लगाए।


ADVERTISEMENT


प्रसाईंले वर्तमान शासन प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै सरकार र सत्तापक्षका नेताहरूले जनमतभन्दा पनि कृत्रिम सहमति र प्रपञ्च सिर्जना गरेर सत्ता टिकाउने प्रयास गरिरहेको आरोप लगाए। उनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै अब आन्दोलनलाई थप सशक्त बनाइने बताए।


ADVERTISEMENT

# # #


उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति, भाषा, धर्म र समुदायको साझा फूलबारी भएको उल्लेख गरे। आफ्नो आन्दोलन कुनै धर्म, समुदाय वा जातिविशेषविरुद्ध नभई मुलुकको राजनीतिक व्यवस्था परिवर्तनका लागि केन्द्रित रहेको उनको भनाइ थियो।

प्रसाईंले हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना तथा वैदिक सनातन मूल्य–मान्यताको संरक्षण आफ्नो अभियानको प्रमुख एजेन्डा रहेको दोहोर्याए। उनले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदलमार्फत आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै माग पूरा नभए आन्दोलनलाई अझ कडा बनाइने चेतावनी दिए।

पत्रकार सम्मेलनमा उनले सरकारसँग असन्तुष्ट सबै नागरिक, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आफ्नो अभियानमा साथ दिन आह्वान पनि गरे। देशको अस्तित्व, राष्ट्रिय एकता र आफूले उठाएका मुद्दाको पक्षमा एकजुट हुन उनले सबैलाई अपिल गरेका छन्।

प्रसाईंले आगामी आन्दोलनको स्वरूप, कार्यक्रम र रणनीति भने चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।