काठमाडौं– काठमाण्डौस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा आईपीओ निष्काशन गर्ने जनाएको छ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा आज दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ भने बाँकी ७१.४३ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।
फ्रन्टलाइन ब्राण्ड नामबाट काठमाण्डौको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पताल हाल १०० शैयाको क्षमतामा सञ्चालन भइरहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको जनाएको छ। थप सेवा विस्तारका लागि निर्माणाधीन २०० शैयाको जनरल तथा क्यान्सर अस्पतालका लागि आवश्यक पूँजी जुटाउन सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए।
कम्पनीले हाल स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी नर्सिङ तथा फार्मेसीलगायतका शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको जनाएको छ। चिकित्सा सेवा र शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस संस्थाको स्थापना वि.सं. २०६२ साल मंसिर १९ गते भएको हो।
कम्पनीका अनुसार हाल वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको छ भने संस्थामा २०० भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन्।



























































