काठमाडौँ – बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ‘पिकनिक खान हेलिकोप्टर चढेर गएको’ भन्दै सामाजिक सञ्जालमा मिथ्या सूचना फैलिएको बताएका छन् ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री बानियाँको सचिवालयले एकैदिन दुईवटा कार्यक्रममा सडक मार्ग हुँदै नभ्याउने भएपछि व्यक्तिगत खर्चमै हेलिकोप्टरको प्रयोग गरिएको स्पष्ट पारेको हो । सचिवालयका अनुसार बिहीबार मुख्यमन्त्री बानियाँले बिहान सिन्धुपाल्चोकको गुफा डाँडामा भएको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम थियो । यस्तै आज दिउँसो नै सिरहामा भएको पार्टीको कार्यक्रममा सिरहाका पार्टी सभापति रामचन्द्र यादवले निमन्त्रणा गरेका थिए ।
तर, केही घण्टाभित्रै सिन्धुपाल्चोकबाट सिरहा जान सम्भव नहुने भएकाले निजी खर्चमै हेलिकोप्टर प्रयोग गरिएको सचिवालयले जनाएको छ । ‘दुवैतर्फको कार्यक्रममा सहभागी हुन असम्भव भएको हुँदा उहाँले नितान्त आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत दुवै कार्यक्रममा सहभागी हुनुभएको जानकारी गराउँदै भ्रमको पछि नलाग्नु हुन सबैमा जानकारी गराउँदछु ।’
मुख्यमन्त्री बानियाँले सरकारी खर्चमा हेलिकोप्टर चढेर पिकनिक खान गएको भन्दै गलत सूचना फैलिएको थियो । यसबारे स्पष्टीकरण दिँदै सचिवालयले मुख्यमन्त्री बानियाँ सरकारी खर्चलाई मितव्ययी बनाउने अभियानमा प्रतिवद्ध रहेकाले यस्ता सूचनाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
गत साउनमा मुख्यमन्त्री बने लगत्तै बानियाँले सरकारी खर्चमा मितव्ययिता ल्याउने अभियान सुरु गरेका थिए । जसअनुसार उनले आफूले सरकारी सुविधा नलिने बरु त्यसले गरिब र असहायको सेवा गर्ने घोषणा गरेका थिए ।
सोही अनुसार सरकारी सेवा सुविधाबाट प्राप्त रकम र निजी सहयोगबाट उनले मकवानपुरमा चेपाङहरुका घर बनाइदिएका थिए ।


























































