काठमाडौँ – नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले जसरीपनि पुस मसान्तभित्र विशेष महाधिवेशन आयोजना गर्ने बताएका छन् ।
१५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेस कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राख्दै थापाले पार्टीको विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका हुन् । बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले केन्द्रीय समितिले पुसभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्दिन भन्न नपाउने जिकिर गरे ।
बैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राखेको भन्दै थापाले विधानको अधिकार अनुसार विशेष महाधिवेशन गर्न नेतृत्व तयार हुने विश्वास व्यक्त गरे । तर विशेष महाधिवेशन गर्न नेतृत्वले नचाहे विधानको धारा १७(२) बमोजिम विशेष अधिकारको प्रयोग गरेर पुस मसान्तभित्र विशेष महाधिवेशनको आयोजना गर्ने स्पष्ट पारे ।
विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उहाले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले आवश्यक निर्णय गर्ने बताए । विशेष महाधिवेशनको आयोजनाले पार्टी विभाजन नहुने उनको भनाइ छ ।



























































