काठमाडौं– बागमती प्रदेश सरकारको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा सम्पन्न भएको छ। बैठकमा माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिको रूपमा सहभागी थिए ।


ADVERTISEMENT


बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा सुशासन र प्रादेशिक जवाफदेहितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारबाट भएको बजेट खर्चसँगै त्यसको औचित्य र उपलब्धि पनि स्पष्ट देखिनुपर्नेमा जोड दिए। कम बजेट खर्च भए पनि सम्बन्धित क्षेत्रमा मात्र खर्च भएर उपलब्धि नआएको भन्ने गुनासोहरू उठिरहेको उल्लेख गर्दै उनले अब परिणाममुखी काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले सरकारले गरेका निर्णयहरू कार्यान्वयनमा लैजान ढिलाइ हुन नहुने स्पष्ट पारे। विगतमा निर्णय हुन नै वर्षौं लाग्ने र कार्यान्वयन समयमा नहुने अवस्था रहेको स्मरण गराउँदै उनले अहिलेको नयाँ पुस्ताले निर्णय र कार्यान्वयन सँगसँगै अघि बढेको देख्न चाहेको बताए ।

उनले बजेट खर्च गर्नु मात्र महत्वपूर्ण नभई बजेटले कुन क्षेत्रमा लगानी गर्‍यो र त्यसबाट के उपलब्धि हासिल भयो भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे। त्यसका लागि समयमै निर्णय र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।