पत्रकार दिनेश सिटौलाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
रास्वपा वरिष्ठ नेता बालेन शाहसंग चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा आइतबार १२ः४५ बजे पत्रकार सिटौलाको निधन भएको ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिए ।
सिटौलालाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रुपमा आइसीयूमा निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनस् प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतस् श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’
विशेष निगरानीका साथ उपचार गरिए पनि पत्रकार सिटौलालाई बचाउन नसकिएको भन्दै अस्पतालले दुःख समेत व्यक्त गरेको छ । बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो ।
चलचित्र पत्रकारहरू तथा शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा दिउँसो २ः ३० देखि ३ः०० बजे सम्म राखिनेछ ।




























































