काठमाडौँ – भारत र श्रीलंकामा यही फेब्रुअरीदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अभ्यास खेलमा नेपालले जित हात पारेको छ । मंगलबार आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो ।
भारतको चेन्नईस्थित एमएए चिदाम्बरम रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो । मध्यम चुनौती पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै जित पारेको हो ।
नेपालको जितका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र मध्यक्रमका ब्याटर आरिफ शेखले चौथो विकेटका लागि नटआउट १०३ रनको शानदार साझेदारी गरेपछि नेपालले जित जित हात पारेको हो । त्यसक्रममा दुबै जनाले अर्धशतक प्रहार गरे । त्यसक्रममा आरिफले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६१ रन तथा दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छकको मदतमा नटआउट ५० रन बनाए ।
यस्तै आरिफल बलमा त्यसअघि कप्तान रोहित पौडेलले १६ र ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले समान ८–८ रन जोडे । बलिङतर्फ युएईका मोहम्मद रोहिदले १ विकेट लिए भने २ विकेट नेपालले रन आउटका रुपमा गुमायो ।
यसअघि ब्याटिङतर्फ युएईका शयव खानले नटआउट ३८ रन बनाए भने हर्षित कौशिकले ३५ तथा आयांश शर्माले २५, मोहम्मद जोहेबले १९ तथा अलिशान सफारुले १२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । समान ४ ओभर बलिङ गरेका उनीहरुले क्रमशः २४ र २६ रन खर्चिए । यस्तै दीपेन्द्रसिंश ऐरीले १ विकेट र एक रन आउट लिए ।
नेपालले अर्को अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ ।



























































