राहुल गुप्ता, बारा – बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सर्वेन्द्र खनालले “बेसुरो राजनीति अब बाँसुरीको पालो” भन्ने नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।
चुनावी चिह्न ‘बाँसुरी’ लिएर मैदानमा उत्रिएका खनालले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै शुद्ध, समन्वयकारी र परिणाममुखी राजनीतिका लागि आफू उम्मेदवार बनेको बताएका छन्। उनले राजनीतिक अस्थिरता, आपसी टकराव र वाचा–प्रतिवद्धतामा सीमित राजनीति अन्त्य गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरे।
स्थानीय मतदातासँगको भेटघाट तथा चुनावी सभामा खनालले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका छन्। “राजनीति जनताको सेवाका लागि हुनुपर्छ, व्यक्तिगत स्वार्थका लागि होइन,” उनले भने।
खनालले आफ्नो चुनावी चिह्न बाँसुरीलाई शान्ति, समन्वय र मिठासको प्रतीकका रूपमा प्रस्तुत गर्दै यसले समाजमा सकारात्मक परिवर्तनको सन्देश दिने विश्वास व्यक्त गरे। स्थानीय स्तरमा उनीलाई एक बलियो र वैकल्पिक उम्मेदवारका रूपमा हेरिन थालिएको छ। चुनावी अभियान तीव्र हुँदै जाँदा बारा क्षेत्र नं. ४ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।



























































