काठमाडौं–फिल्म निर्माता एवम् वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको हो । उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नेपाली रूपैयाँका नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिका १ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद भएको हो । फिल्म लुट, लुट–२, छड्के, रेशम फिलिलीलगायत चलचित्रका निर्माता तथा वितरकसमेत रहेका वाग्ले तेजेन जङ् थापाको घरमा भाडामा बस्दै आएका थिए ।

मंगलबार नयाँ बसपार्क मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भइ कमल पोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजाको बिल तिर् नक्कली रूपैयाँ दिएका थिए। नक्कली पैसाबारे पसल सञ्चालकले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको साथबाट १ लाख २० हजार नक्कली नेपाली रूपैयाँ फेला पारेको थियो ।

उनैले दिएको सूचनाका आधारमा प्रहरीले सिन्धुली घर भई लुभु ललितपुर बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षिय साजन तामाङलाई ७ लाख ४३ हजार नक्कली नेपाली रूपैयाँ सहित पक्राउ गरेको थियो । प्रहरीले बागबजारस्थित नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक धादिङ घर भई चावहिल बस्ने ३६ वर्षीय प्रकाश सुवेदी र जय भोलेबाबा प्रिङ्टिङ प्रेसका सञ्चालक भक्तपुरका विकेश नापितलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरेको ४ थान प्लेटसमेत बरामद गरेको छ । होटल रेष्टुरेन्टमा पैसा तिर्न, यौनकर्मीले प्रयोग गर्न, जुवा खेल्न, लागूऔषध कारोबार गर्न तथा सक्कलीमा मिसाएर उनीहरूले बजार पुर्‍याउने गरेको काठमाडौं प्रहरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उनीहरूको अभियोग प्रमाणित भए बिगोबमोजिम जरिबाना र दश वर्षको कैद हुनेछ।

यसैबीच पक्राउ परेका वाग्लेले आफूहरूले फिल्म प्रयोजनका लागि नक्कली रूपैयाँ छापेको प्रहरीमा बयान दिएका छन् । तर प्रहरी प्रमुख पोखरेलले आफू पक्राउ हुने डरले साथीहरू पक्राउ परिसकेपछि यस्तो उपाय अपनाएको दाबी गरेका छन् ।

स्पष्ट रुपमा नक्कली बुझिने वा देखिने नोटमात्र प्रयोग गर्न पाइने उनले बताए। बरामद भएका केही नोटमा साना अक्षरमा ‘नक्कली नोट’, केहीमा ‘नक्कली फिल्म प्रयोजनका लागि’ लेखिएको छ भने केहीमा भने त्यति पनि नलेखिएको एसएसपी पोखरेल बताउँछन् । नेपालमा प्रचलनमा रहेको नोट छाप्ने जिम्मा पाएको नेपाल राष्ट्र बैँकले समेत नोट आफै छाप्न पाउँदैन । राष्ट्र बैँकले पनि मन्त्रिपरिषद्को निर्णय भइसकेपछि मात्र नोट छाप्न अनुमति पाउँछ ।

हेर्नुहोस् बरामद नक्कली नेपाली रूपैयाँ: