काठमाडौं–प्रदेश नम्बर २ का कर्मचारीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा जनकपुरमा राष्ट्रिय झन्डाको स्वरूप बिगारेको बारे हेक्कै नभएको स्पष्टिकरण दिएका छन् ।


ADVERTISEMENT


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको दुई पाना लामो स्पष्टिकरणमा प्रदेश नम्बर २ का प्रमुख सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले झन्डा कसले कार्यक्रम स्थलमा राखेको भन्ने आफूहरूलाई जानकारी नभएको स्पष्टिकरण दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख सचिव हरि फुयाँलले मन्त्रालयमा पठाएको स्पष्टिकरणमा मञ्च व्यवस्थापनको जिम्मा आफूहरुको समेत रहेपनि झण्डा कसले, कतिबेला र किन राखेको हो भन्ने आफूहरुलाई जानकारी नै नभएको उल्लेख गरेका छन् ।

प्रजिअ पराजुली बाहेकका कर्मचारीले आफूहरुलाई मञ्च व्यस्थापनको सिलसिलामा सबै ठाउँमा जानसमेत नदिइएकाले स्वरूप बिगारेको झन्डा कसले राखेको हेक्का नभएको स्पष्टिकरण दिएको मन्त्रालयले जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका सचिवले भने अहिलेसम्म स्पष्टिकरण बुझाएका छैनन् । बिहीबार साँझसम्म स्पष्टिकरण दिने समय छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तीन जनाले ‘स्वरूप बिगारेको झन्डा कसले कार्यक्रम स्थलमा राखेको जानकारी नभएको, मिडियामा समाचार आएपछि मात्रै जानकारी पाएको’ उल्लेख गरेका छन् । मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन् ? भन्ने तीन दिनभित्र स्पष्टिकरण दिन गत सोमबार निर्देशन दिएका थिए।

सबै जनाबाट स्पष्टिकरण प्राप्त भएपछि मन्त्रालयले थप सत्यतथ्य बुझ्ने अधिकारीले बताए ।