मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिकाबाट सानो हतियार, हेण्डसेट र भरुवा बन्दुकसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।
मिति २०८२ साल १० महिना २६ गते साँझ करिब ६ बजेको समयमा सुन्दरहरैचा नगरपालिका वडा नं. २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुको घरमा अवैध हतियार लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी तथा प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले घर तलासी गरेको थियो।
तलासीका क्रममा लिम्बुको सुत्ने कोठाबाट “MADE IN USA” लेखिएको एक थान पेस्तोल, “BAOFENG” लेखिएको दुई थान हेण्डसेट तथा भरुवा बन्दुक जस्तो देखिने एक थान काठको हतियार फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार सुन्दरहरैचा नगरपालिका वडा नं. ३ बस्ने २९ वर्षीय प्रेम बहादुर गुरुङबाट लिएको भनी सिलास लिम्बुले बयान दिएको थियो। त्यसपछि प्रहरीले गुरुङलाई खोजतलास गर्दै घरमै फेला पारी नियन्त्रणमा लिएको हो।
दुवै जनालाई बरामद हतियारसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखी आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरू सुन्दरहरैचा–२, बेलडाँगी बस्ने २८ वर्षे सिलास लिम्बु, सुन्दरहरैचा–३ बस्र्ने २९ वर्षको प्रेम बहादुर गुरुङ रहेका छन् ।
बरामद सामग्री:
MADE IN USA लेखिएको पेस्तोल – १ थान
भरुवा बन्दुक जस्तो देखिने काठको हतियार – १ थान
BAOFENG लेखिएको हेण्डसेट – २ थान



























































