भक्तपुर – बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले भक्तपुरको लोकन्थलीमा अवस्थित गैरनाफामूलक सान हस्पिटलको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले हस्पिटलमा उपलब्ध किड्नी प्रत्यारोपण सेवासहित विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरूको बारेमा जानकारी लिएका छन् । उनले हस्पिटलको भौतिक संरचना, सेवा प्रवाहको अवस्था तथा स्वास्थ्य क्षेत्रमा हस्पिटलले खेलेको भूमिकाको अवलोकन गरेका थिए।
मुख्यमन्त्री बानियाँले गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको सान हस्पिटलले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै उनले आगामी दिनमा बागमती प्रदेशभित्रका गरिब, निमुखा तथा विपन्न बिरामीको निःशुल्क उपचारका लागि अस्पताल र प्रदेश सरकारबीच सहकार्य हुने कुरा उल्लेख गरे ।
निरीक्षण कार्यक्रममा हस्पिटल व्यवस्थापन पक्षका प्रतिनिधिहरूले हाल प्रदान गरिँदै आएका सेवा, भविष्यका योजना तथा चुनौतीहरूबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।




























































