काठमाडौं–देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।


ADVERTISEMENT


२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचारी, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।


ADVERTISEMENT

# # #


२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो । २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले बताए ।

दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो
एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्टपार्टी अब करीव दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकप्रिय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करीव ५३ प्रतिशत स्थापित भएको छ । सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।

प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।