भीमदत्तनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ ।


ADVERTISEMENT


एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताए । “दुई दिन अघिसम्म दैनिक रु पाँच हजारसम्मको बिक्री भयो,” उनले भने, “अहिले खपत अलि कम छ ।”

राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन् । उनीहरु बिक्रीका लागि फड् राखेर बस्दैआएका छन् । उनले भने, “यहाँको कमाइले घर खर्च र पढाइ खर्च चलेको छ ।” दशकौँदेखि किसानले बगरखेती गर्दै आएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित वनहरा नदीको बगरमा फलेका खरबुजा । तस्विर :रासस

यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त छिन् । छोराछोरीसमेत बिक्रीमा सघाइरहेको बताउँदै उनले गत चैत महिनायता रु ५० हजार आम्दानी भएको बताइन् । “अहिले बिक्री अलिकति कम छ,” रानाले भन्नुभयो, “बगरमा रु १५ हजार जति लगानी गरेको हुँ ।”

राजमार्ग छेउमै फड् राखेर व्यापार गर्दै आउनुभएका राना अन्य मौसममा भने डकर्मीको काममा व्यस्त हुने गरेका छन् । दैनिक रु दुई हजारभन्दा बढीको बिक्री हुने गरेको र बगरको कमाइले बालबालिकाको लालनपालनदेखि घरको नून तेलसम्मको खर्च धानेको रानाको भनाइ छ ।

बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताए । “कृष्णपुर नगरपालिकाले यहाँका बगरखेती गर्ने किसानलाई सगोलमा रु एक लाखबराबरको मलखाद दिएको थियो ।” रानाले भने, “कृषि र रेडक्रसले बीउबिजनको सहयोग गरेका थिए ।”

आफू राजमार्ग छेउमा व्यापारका लागि आउनुअघि तरकारी गाउँ गाउँ पुगेर बिक्री गर्ने गरेको रानाले बताउनुभयो । “उत्पादित वस्तुको खपतका लागि बजारको समस्या छैन,” उनले भने, “यहाँको तरकारी काठमाडौँसम्म बिक्री हुन्छ ।”

तीन महिनादेखि पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिकास्थित चौधर नदी छेउमा सञ्जिता चौधरी तरकारी बिक्री गर्दै आएकी छन्। बेदकोट नगरपालिका–१० हरपालकी चौधरीले दैनिक रु तीन हजारसम्मको तरकारी, खरभुजा र काँक्रा बिक्री गर्छिन् । “यात्रुहरु नै हाम्रा ग्राहक हुन्,” चौधरीले भनिन्, “बगरबाट थोकमा ल्याएर राजमार्ग छेउमा बसेर फुटकरमा बिक्री गर्छु ।” उनले हालसम्मको कमाइमध्ये रु ३० हजार बैंकमा जम्मा गरेको बताइन् ।

“घर खर्च पनि यही व्यापारबाट चलेको छ ।” उनले भनिन्, “श्रीमान् स्थानीय लालपुर बजारमा मजदूरी गर्नुहुन्छ ।” शेरबहादुर सिंह/रासस