काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरुका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १३ गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ ।


























































