काठमाडौं–क्युबाको हवाना विमानास्थल नजिकै भएको दुर्घटना भएको विमानमा ब्ल्याक बक्स भेटिएको क्यूबाका अधिकारीले बताएका छन् । बोइंग ७३७–२०१ शुक्रबार हवानास्थित विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएका थियो जसमा तीनजना महिला यात्रु मात्रै बाँच्न सफल भएका छन् भने अन्य सयभन्दा बढीको ज्यान गएको थियो ।


ADVERTISEMENT


प्रत्यक्षदर्शीका अनुसार विमानस्थल नजिकैको खेतमा खस्नुअघि नै विमानमा आगो लागिसकेको थियो । सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए।


ADVERTISEMENT

# # #


अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ । क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन् ।

उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन् । विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो कि होइन भनेर छुट्ट्याउनु क्युबाका लागि धेरै महत्त्वपूर्ण रहेको हवानास्थित बीबीसी संवाददाता विल ग्रान्ट बताउँछन् ।

उनी भन्छन् क्युबाको ध्वाजावाहकसँग रहेका अधिकांश विमान दुर्घटनामा परेको विमान जत्तिकै पुराना छन् । त्यही भएर अधिकारीहरूले अनुसन्धानलाई थप महत्त्व दिइरहेका छन् । तर पीडितका परिवारहरूलाई भने त्यसले खासै सान्त्वना दिने छैन ।

तर उनीहरूले उडेको लगभग एक मिनेटमै के कारणले विमान दुर्घटना भयो भन्ने जवाफ मागिरहेका छन् । यसका साथै क्युबाको सरकारले दुईदिने शोकबिदाको घोषणा गरेको छ ।