काठमाडौँ–राजधानीको गुहेश्वरी मन्दिरको ठ्याक्कै पारिपट्टी मुल सड्कबाट केही मिटर भित्र पहेलो रंगको साढे दुईतले घर देखिन्छ । चिटिक्क परेको उक्त घरको बाटोहुँदै हिँड्नेहरुको नजर आजभोलि त्यो घरमा ठोक्किन्छ नै, किनकी त्यो सुन तस्करीमा संलग्न मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ बस्ने घर हो ।


ADVERTISEMENT


दुबईबाट ल्याएको साढे ३३ किलो सुन हराएपछि ‘गोरे’ ले सुनका भरियालाई त्यही घरमा बोलाएर अपराध महाशाखाका तत्कालिन प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको सहयोगमा सोधपुछ गरेका थिए ।


ADVERTISEMENT

# # #


सादा पोशाकमा हरेक समय कम्मरमा पेस्तोल भिरेर हिँडने सई सञ्जेलले सुनका भरिया नरेन्द्र कार्कीलाई यही घरमा धम्काएका थिए । गौरीघाटस्थित सोही घरमा पेस्तोल निकाल्दै सञ्जेलले ‘सुन नदेखाए गोली हानिदिन्छु’ भन्दै कार्कीलाई धम्क्याएको सुन तस्करी छानविन समितिले गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

‘गोरे’ को घर हुँदै हिँड्थिन् रक्षा भण्डारी ।

उमेरले करिब १८–२० पुगेकी भण्डारीले भर्खरै प्लस टु पास गरेकी थिर्ईन् । आफ्नो घर नजिकैबाट हिँड्ने सुन्दरीसँग एकदिन गोरेको आँखा ठोक्कियो । तस्करी गरेर अकुत कमाएका गोरेले प्रेम जाल बिछ्याए ।

रक्षा गोरेको जालमा परिन् । गोरेका छिमेकीका अनुसार उनको घरबाट करिब ५ सय मिटरमा दूरीमा रक्षाको घर छ । आफ्नी प्रेमिका रक्षालाई स्कुटर किनिदिएका गोरेले यसपाला रक्षाको घरको तला थपिदिने बचन दिएका थिए ।

तर, सुन तस्करी बाहिरिएसँगै प्रेमिकालाई दिएको उक्त बाचा अधुरै छ । गौरिघाटस्थित गोरेको यो घरमा अहिले उनका बावु नेत्र उप्रेती र परिवारका अन्य सदस्य बस्दै आएका छन् ।

यो घरमाथि अहिले प्रहरीको निगरानी पनि छ । गोरेका बावु पनि नेपाल प्रहरीको अवकास प्राप्त जुनियर अफिसर भएको गौरिघाटका एक स्थानीयले जानकारी दिएका छन् ।

सुन तस्करीमा संलग्न भरिया सनम शाक्यलाई यातना दिने क्रममा मृत्यु भएसँगै गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितीले छानविन गरिरहेको छ ।

तस्करीका मुख्य नाईके ‘गोरे’ भने फरार छन् ।