काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई सकस परेको छ । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहनेछन् ।


ADVERTISEMENT


तत्कालीन एमालेको केन्द्रीय कमिटी २०० सदस्यीय थियो । त्यसैले नेताहरु थप ४१ केन्द्रीय सदस्य छान्न लागेका छन् । यो सूची लगभग तयार भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


तर माओवादीको केन्द्रीय सदस्य ४ हजारभन्दा बढी थिए । पार्टी पुनर्गठन गर्ने निर्णय भए पनि त्यसले गति नपाएका कारण संगठन भद्रगोल अवस्थामा छ ।

अहिले कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् । शनिबार प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’बीच पाँच घन्टा छलफल भएको थियो । छलफलको क्रममा २३५ भन्दा बढी नेताको नाम आएको छ र, अझै थपिने क्रममा रहेको स्रोतको दाबी छ ।

यसबारे आज पनि छलफल गर्ने तयारी छ । केन्द्रीय सदस्य छानेपछि स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।