काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको छ ।
स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा तिथिमिति फरक पर्न गएको भन्दै समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको हो ।
समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वीकृति नलिई प्रकाशन तथा बितरण गरिएका पञ्चाङ्ग तथा क्यालेन्डरहरु सम्बन्धीत प्रशासनिक निकायमार्फत जफत गरी कानून बमोजिम कारवाही गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले समितिको गठन आदेश बमोजिम नै पात्रो वा भितेपात्रो प्रकाशन गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिए ।
समितिको स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले निर्देशन नै जारी गर्नुपरेको उनले बताए ।
समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन जारी रहने उनले जानकारी दिए ।


























































