काठमाडौं । नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिको आयोजनामा निर्वाचन अभिमुखीकरण तथा रणनीतिक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, रणनीतिक तयारी तथा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


ADVERTISEMENT


कार्यक्रममा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उहाँले आगामी निर्वाचन लोकतन्त्र, संविधान र संघीय व्यवस्थाको संरक्षणका लागि निर्णायक हुने उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्ताहरू एकजुट भएर जनताको विश्वास जित्ने गरी मैदानमा उत्रिनुपर्नेमा जोड दिए।


ADVERTISEMENT

# # #


कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेस जनताको पार्टी भएको उल्लेख गर्दै संगठन बलियो बनाउँदै घरदैलो अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए। उहाँले लोकतान्त्रिक मूल्य, सुशासन र विकासको एजेन्डालाई केन्द्रमा राखेर निर्वाचनमा जानुपर्ने धारणा राखे।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जयराम लामिछानेले चुनावी रणनीति, मतदाता परिचालन र संगठनात्मक अनुशासनका विषयमा प्रशिक्षणात्मक धारणा राख्नुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र इतिहासलाई जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ की उम्मेदवार महालक्ष्मी उपाध्याय तथा क्षेत्र नम्बर–२ का उम्मेदवार बुद्ध लामाले पनि आ–आफ्ना धारणा राख्दै कांग्रेसप्रति जनताको बढ्दो समर्थनलाई निर्वाचन जितमा परिणत गर्न सबै कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा मकवानपुर–काठमाडौंमा रहेका कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रशिक्षणमार्फत चुनावी रणनीति, मतदाता मनोविज्ञान, प्रचार–प्रसारका विधि तथा संगठन परिचालनका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ।