डाक्नेश्वरी ९सप्तरी०, ८ फागुन।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले सङ्घीयता विरोधी शक्तिहरूले प्रदेश खारेज गरेर पुनः मधेशी जनतालाई गुलाम बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले शुक्रबार डाक्नेश्वरी नगरपालिका–८ स्थित पट्टीमा आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे। मधेश जनविद्रोहबाट स्थापित सङ्घीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले भने, “सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायका अधिकार खोस्दै फेरि गुलाम बनाउन चाहेका छन्।
कांग्रेस र कम्युनिष्टको चाहनाविपरीत मुलुकमा सङ्घीयता आएको उल्लेख गर्दै अध्यक्ष यादवले भने, “कांग्रेस–कम्युनिष्टले सङ्घीयता चाहेकै थिएन। आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयता र प्रदेश खारेजको पक्षमा रहे पनि विभिन्न आवरणमा मधेशी जनताको मत तान्न भ्रम फैलाइरहेको छ।” गत निर्वाचनमा प्रदेशसभामा उम्मेदवारीसमेत नदिएको रास्वपाको भुलभुलैयामा नपर्न उनले मतदातालाई आग्रह गरे।
हरेक राजनीतिक परिवर्तनमा सप्तरीले निर्णायक भूमिका खेले पनि राज्यको विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो। गरिबी, बेरोजगारी, अशिक्षा, बाटोघाटो, गुणस्तरीय शिक्षा र सुरक्षित खानेपानीको अभाव अझै कायमै रहेको बताउँदै उनले सही जनप्रतिनिधि छनोटमा बारम्बार चुक्दै आएको जनाउँदै भने, “न विकास गर्ने, न अधिकारका लागि बोल्ने प्रतिनिधि चयन हुँदा सप्तरी पछि परेको छ, बरु विकासको लहर ल्याउन सक्ने नेतालाई पाखा लगाउने काम भयो।”
आफू सप्तरी–२ बाट निर्वाचित हुँदा विराटनगरभन्दा पनि ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक तथा विद्यालय भवनजस्ता योजनाहरू अगाडि बढाएको स्मरण गर्दै उनले ती योजनालाई निरन्तरता दिन जनता चुकेको बताए। “त्यतिबेला सुरु गरिएका योजनालाई पछिल्ला जनप्रतिनिधिले अघि बढाएनन्, उल्टै कृषि विश्वविद्यालय भवनको शिलान्यासमा अवरोध गरियो, जसका कारण अहिले पनि बजेट निकासा हुन सकेको छैन,” उनले भने।
हावाको पछि नलागी विगतको कामको मूल्याङ्कन गरेर मतदान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई अधिकारसम्पन्न बनाउने र मधेशी तथा उपेक्षित समुदायको भविष्य निर्धारण गर्ने निर्णायक अवसर भएको बताए।
शुक्रबार नै डाक्नेश्वरी नगरपालिकाको प्रवाहा, धामी टोल, भीमपुर र बिसहरियालगायत स्थानमा आयोजित सभाहरूमा अध्यक्ष यादवले सम्बोधन गरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए।


























































