काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका हुन् ।
निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।
उनले काठमाडौँ–५ को आवश्यकताले आफ्नो उम्मेदवारी तय भएको बताए । ‘हामीले यहाँ धेरै काम गर्यौं । योजना बनायौँ । प्रदेश, संघीय तहबाट बजेट ल्यायौँ । स्थानीय तहलाई परिचालन गर्ने काम गर्यौं ।’ उनले भने, ‘त्यसैले म यहाँकै आवश्यकताका आधारमा उम्मेदवार बनेको हुँ ।’
पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरे । उनले भने, ‘यो निर्वाचन असामान्य अवस्थामा हुँदैछ । मुलुकलाई लोकतान्त्रिक र संवैधानिक बाटोमा ल्याउनका लागि सही र देश बनाउने पक्षलाई मतदान गर्नुपर्छ । देश बनाउने त्यो पार्टी भनेको नेकपा एमाले हो ।’
आफुले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर विजयी गराउने उनको दाबी छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगायतका उम्मेदवार रहेका छन् ।


























































