काठमाडौँ – आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसंग जोडिएको भारत र चीनको सिमानाकाहरुमा दुबै देशका सुरक्षा अधिकारीहरुले सुरक्षा सतर्कता बढाउने भएका छन् ।
भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सिमाक्षेत्रमा दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसैगरी ७२ घण्टा अगाडि अर्थात फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सिमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
कोशी प्रदेशको चीनसंगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभएपनि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर जिल्लाका भारतीय सिमामा भने संयुक्त गस्ती समेत गरिने उनले बताए ।
निर्वाचनका बेला ७२ घण्टा सिमा सिल गर्ने र संयुक्त सिमा गस्ती गर्नुका साथै तस्करी नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, हतियार ओसारपोसार र नक्कली नोट कारोबार नियन्त्रण गर्ने बारे भारतिय र नेपाली सुरक्षा अधिकारीहरु बीच सहमति भएको छ ।


























































