काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागीता जनाउन आह्वान गरेकी छिन् ।


ADVERTISEMENT


सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि आगामी निर्वाचनमा सरिक हुन मतदातालाई आह्वान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


भोट हाल्नु केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभइ आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय समेत भएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध समेत गरेकी छिन् । उनले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक–अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार–प्रसार गर्न समेत गरिन् ।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको भन्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको उनले जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने स्पष्ट पार्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने धारणा राखेकी छिन् । उनले मध्यपूर्वमा उत्पन्न घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहा रहेका नेपालीहरुको सुरक्षा ठूलो चासोको बिषय भएको बताइन् ।

इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको उहाले बताइन् ।