काठमाडौं – वि.सं. २०८२ कार्तिक २७ गते नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै ३३औँ प्रहरी महानिरीक्षकका रूपमा पदभार ग्रहण गरेका दानबहादुर कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र पूर्णतः जनमुखी एवं नागरिकमैत्री बनाउने दृढ संकल्पकसहित कर्तव्यपथमा अगाडी बढेका छन् ।
नेतृत्व सम्हालेको छोटो अवधि अर्थात १०० दिनमै उनले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अपराध अनुसन्धान पद्धतिको संस्थागत अवलम्बनमार्फत संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गरेका छन् ।
अवकासप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वयमार्फत उनहिरूको अनुभव, ज्ञान र सुझाबलाई आत्मसात गर्दै संगठनलाई मात्र नभई सिंगो मुलुकको हितलाई केन्द्रमा राखी निर्णय लिने उनको स्वभावले साँच्चै नै दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वको परिचय दिएको छ । यसले संस्थागत निरन्तरता, अनुभवको सम्मान तथा नीति निर्माणमा सन्तुलित दृष्टिकोण सुनिश्चित गर्दै संगठनलाई स्थायित्व, विश्वास र दिगोपनतर्फ उन्मुख गराउन अहम भूमिका निर्वाह गरेका छन् ।
यस अवधिमा सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता तथा नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकतामा राखिएको छ । साथै, संगठनभित्र उत्तरदायित्व संस्कृतिको विकास, कार्यसम्पादन मूल्यांकन प्रणालीको सुदृढीकरण तथा डिजिटल रूपान्तरणतर्फ स्पष्ट दिशानिर्देशले नेपाल प्रहरीलाई थप आधुनिक, पेशागत र परिणाममुखी संरचनातर्फ उन्मुख गराएको छ । प्रहरी–नागरिक सम्बन्धलाई विश्वास, सम्मान र सहकार्यमा आधारित बनाएको छ ।
प्रहरी महानिरीक्षक पदमा नियुक्तिपश्चातको यस “सुनौलो १०० दिन” केवल समयको गणना मात्र नभई संगठनात्मक रूपान्तरणको प्रारम्भिक अध्याय, प्रतिबद्ध नेतृत्वको उदाहरण र भविष्यको मार्गचित्र कोर्ने निर्णायक चरणका रूपमा स्थापित भएको छ । यसले नेपाल प्रहरीको संस्थागत विश्वसनीयता अभिवृद्धि गर्दै दीर्घकालीन सुधार र सुदृढ सुरक्षा व्यवस्थाको ठोस आधार तयार गरेको छ ।
सँधै तल्लो दर्जाका प्रहरीहरूको सेवा, सुविधा तथा हित प्रवर्द्धनका लागि अनवरत रूपमा पहल गर्दै आएको उनको प्रतिबद्धताले संगठनभित्र आत्मसम्मान, मनोबल र कार्यउत्साह अभिवृद्धि गरेको महशुस भएको छ । आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका व्यावसायिक आवश्यकता तथा अवसरको समान पहुँचजस्ता विषयलाई प्राथमिकतामा राख्ने उनको कार्यशैलीले नेतृत्वको संवेदनशील र समावेशी स्वरूपलाई प्रष्ट पारेको छ ।
अब दृष्टिपात गर्रौ यो ऐतिहासिक १०० दिनको अवधिमा उनको नेतृत्वमा सम्पन्न भएका उल्लेखनीय उपलब्धि र रूपान्तरणकारी कार्यहरू
- “कार्यसम्पादन मूल्यांकन मार्गदर्शन” कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने पद्दतिको सुरुवात ,
- पदभार ग्रहणको समयमा गर्नुभएको प्रतिबद्धता अनुरुप प्रहरी कार्यालय सहयोग देखि प्रहरी बरिष्ठ नायब निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीका लागि “आकस्मिक सहुलियत कर्जा” प्रवाह प्रक्रिया पूरा गरी अनलाइन आवेदन प्रणाली सञ्चालन,
- राशन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि लागु हुने गरी नेपाल प्रहरीको राशन स्केलमा थप ३ प्रकारका सामग्री समावेश,
- ७ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न ,
- डोल्पा जिल्लामा गस्तिको क्रममा बिरामी परेका प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी आवश्यक उपचार को व्यवस्था,
- प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौतिहरु र भावी कार्यदिशा विषयमा रणनीतिक सम्मेलन सम्पन्न,
- प्रहरी प्रधान कार्यालयमा AI-AAC (Artificial Intelligence and Advanced Analytics Cell) को स्थापना ,
- विभिन्न प्रदेशका ३७ युनिटको अनुगमन गरी निर्देशन सम्बोधन,
- प्रहरी वृत्त सातदोबाटो, बौद्ध, प्रहरी प्रभाग कोटेश्वर लगायत विभिन्न स्थानमा रहेका ७ वटा प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घघाटन,
- देशभर १२ प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति,
- जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा करिब शत प्रतिशत सफल अनुसन्धान,
- कर्तव्य ज्यान सम्बन्धी १२३ घटनामा १८८ अभियुक्त पक्राउ
- जबरजस्ती करणी तथा उद्योगका ४७५ घटनामा ४४५ अभियुक्त कानुनी दायरामा
- फैसला कार्यान्वयन अन्तर्गत १९६० वर्ष कैद तथा रु. ३८,३६,२७,६४९ जरिवाना भुक्तान गर्न बाकि ५७८१ जना फरार प्रतिवादी पक्राउ ।
- लागूऔषध सम्बन्धि कसुरमा २४५५ जना बिरुद्ध १५४८ मुद्दा दर्ता भएको जसबाट १७१५३ के जि गांजा, ४२० के जि चरेस, १० के जि हेरोइन, ५ के जि अफिम, ५ के जि पोल्याण्ड, २१ ग्राम कोकिनका साथै ठोस तथा तरल अवस्थाका बिभिन्न ४०५१०८ परिमाणमा प्रतिबन्धित लागुऔषधको बरामद ।
- सानो ठुलो गरी २५५ नाल अबैध हतियार बरामद ।
- ४,००० भन्दा बढी हराएका व्यक्तिहरू परिवारको जिम्मा लगाइएको ।
- सामुदाय प्रहरी साझेदारीका २७,५२८ कार्यक्रम मार्फत १२ लाखभन्दा बढी नागरिक लाभान्वित,
- उपत्यकाका तीन वटै जिल्लामा “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न,
- सरुवा प्रणाली व्यवस्थित गर्दै आफ्नो दरबन्दिमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीति लागू ।
- अमर तथा शहीद प्रहरी परिवारसँग भेटघाट तथा श्रद्धाञ्जली अर्पण ।
- मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका वडा नं. १ र बारा जिल्लाको महागढिमाई नगरपालिका वडा नं १० मा विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण ।
- बिरगंज स्थित मानवसेवा आश्रम र कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित गुरुकुल, कैलास आश्रममा खाधन्न सामाग्री बितरण गर्नुभएको ।
- संगठनको व्यवसायिकतामा बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधी तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको ।
- विभिन्न निकायबाट २४० सवारी साधन प्राप्त गरी मातहतमा वितरण ।
- करिब ५९,९५,८२,४३६ रुपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, काठ, हुण्डी, श्रोत नखुलेको रकम, नदिजन्य पदार्थ, अबैध मुद्रा, पशुपंक्षी लगायतका राजश्व चुहावटका गतिविधी नियन्त्रण गरीएको
- गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा देविस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका–७, घमिर, गुल्मीमा रु. ५,००,००० (पाँच लाख रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्नुभएको ।
- आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अख्तियार प्रमुख सहित उच्च पदस्थ १० जनालाई ज्यान मार्ने धम्की दिने ३३ बर्षीय प्रकाश पाठक सहित बिभिन्न मुद्धाका ३ जना प्रतिवादिहरुलाई बिभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याईएको ।
- बिभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा प्रदेशका नाकाहरु सहित देशभरका बिभिन्न स्थानमा FIX, PTZ र ANPR गरी ४५६ वटा CCTV क्यामेरा जडान भएको ।
- हराएका सवारी साधनहरूको अभिलेखीकरण गर्ने कार्य व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउनको लागी Traffic प्रहरीको वेबसाइटबाट LOST VEHICLE RECORD SYSTEM मा सवारी धनी आफैंले Online निवेदन दिन सक्ने र आफ्नो सवारीसाधन भेटिए/नभेटिएको समेत Online बाट नै थाहा पाउन सक्ने व्यवस्था मिलाइएको,
- हराएका तथा अलपत्र अवस्थामा भेटिएका व्यक्तिहरूको र पहिचान नखुलेका शवहरूको विवरण हेरी पहिचान तथा सनाखत गर्न मिल्ने गरि यस्ता सूचनाहरू सर्वसाधारणको पहुँचसम्म पुग्ने गरी नेपाल प्रहरीको वेबसाइट परिष्कृत गरिएको,
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई पूर्णतः शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा योजना तर्जुमा गर्नुका साथै विभिन्न सरोकारवाला निकाय, पूर्व प्रहरी अधिकारी तथा सम्बन्धित पक्षहरूसँग निरन्तर समन्वय, सहकार्य र परामर्श कायम राख्दै निर्वाचनका सम्पूर्ण चरणहरूलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण, जिम्मेवार तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
यसरी, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा बितेका यी १०० दिन (वि.सं. २०८२ कार्तिक २७–फागुन ८) नेपाल प्रहरीले अनुभव गरेको संगठनात्मक सुधार, सुशासन र परिणाममुखी कार्यसम्पादनको एक ऐतिहासिक र सशक्त अध्यायका रूपमा स्मरणीय बनेका छन् ।


























































