काठमाडौँ –निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको जानकारी दिए ।
उनका अनुसार साहविरुद्ध आएको उजुरीको छिनोफानो गर्दै आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो ।
निर्वाचन आयोग ऐन २०७४ को दफा १३ को उपदफा ‘ज’मा ‘प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर’ उम्मेदवार अयोग्य हुने व्यवस्था छ।
यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।


























































