गण्डकी – गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ । गोरखा–१ र २ मा मतगणना जारी छ ।
परिणाम सार्वजनिक भइसकेका १६ निर्वाचन क्षेत्रमध्ये १३ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बनेका छन् भने दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन् । कास्की–१ मा ३९ हजार ८३३ मतसहित खड्कराज पौडेल, कास्की–२ मा ३१ हजार ९११ मत ल्याएर उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी बनेका हुन्। बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन् । बागलुङ–१ मा सुशील खड्का २० हजार ९२७ र बागलुङ–२ मा सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी भएका छिन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बनेका छन् । स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी भएका छन् । रेग्मीले २९ हजार ३१ र डुम्रेले २५ हजार ३३५४ मत प्राप्त गरे । तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णीम वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका छन्। तनहुँ–२ मा श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी बनेका छन् ।
यस्तै नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बनेका छन् । नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बनेका छन् । गौतमले ५० हजार ९४५ र खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन् । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी बनेका छन् । पवर्तमा रास्वपाकै सागर भुसाल २६ हजार ५६१ मतसहित विजयी बनेका छन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बनेका छन् । उनले २२ हजार ८५० मत प्राप्त गरेका छन् । मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मत ल्याएर विजयी बनेका छन् । मनाङमा पनि नेपाली काँग्रेसकै टेकबहादुर गुरुङ विजयी बनेका छन् । उनले दुई हजार ४१५ मत ल्याए ।


























































