काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले देशभर कूल १६५ सिट मध्ये १८ सिटमै सीमित हुनु परेको छ । पार्टीको अन्तिम जितका रुपमा इलाम–१ मा काँग्रेस उम्मेदवार निश्कल राई निर्वाचित भएसँगै काँग्रेसको प्रत्यक्षतर्फको सिटको टुंगो लागेको हो ।


ADVERTISEMENT


यसअघि २०७९ मा भएको प्रतिनिधिसभा सदस्यमा काँग्रेसले प्रत्यक्षतर्फ ५७ क्षेत्रमा जित निकालेको थियो । सार्वजनिक नतिजा अनुसार काँग्रेसले कोशी प्रदेशमा २८ निर्वाचन क्षेत्रमध्ये काँग्रेसले ४ जितमै चित्त बुझाउनु परेको छ । यसपटक भने कोशीमा काँग्रेसका उम्मेदवारमध्ये पाँचथरबाट नगेन्द्र कुमार केरुङ विजयी भएका छन् भने इलाम–१ बाट निश्कल राई, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । २०७९ मा कोशीबाट ९ जित हात पारेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै मधेश प्रदेशका युवा उम्मेदवार फिरदोस आलमले काँग्रेसका इज्जत जोगाएका छन् । रौतहट–२ बाट निर्वाचित भएका उनी मधेशका काँग्रेसका एकल विजेता हुन् । यसअघि काँग्रेसले मधेशमा कूल ३२ मध्ये ७ सिट जितेको थियो ।

बागमती प्रदेशमा भने यसपटक काँग्रेसलाई ठूलो धक्का लागेको छ । यस्तै बागमती प्रदेशमा पनि रसुवाबाट विजयी उम्मेदवार मोहन आचार्यले काँग्रेसलाई शून्य हुनबाट जोगाएका छन् । जबकी यसअघि काँग्रेस यस प्रदेशमा सबैभन्दा ठूलो पार्टी भनेको थियो । काँग्रेसले बागमतीमा कूल ३३ सिटमध्ये १३ सिट जितेको थियो ।

गण्डकी प्रदेशमा काँग्रेसले २ क्षेत्रमा मात्रै जित निकालेको छ । मनाङबाट काँग्रेसका टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकालीले जित हात पारेका छन् । यस प्रदेशमा यसअघि पनि काँग्रेस नै पहिलो पार्टी बनेको थियो । उसले १८ सिटमध्ये ९ सिट जितेको थियो ।

यस्तै लुम्बिनीबाट पनि काँग्रेसले २ क्षेत्रमा जित हात पारेको छ । कूल २६ सिटमध्ये पाल्पा–१ बाट सन्दीप राना र कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह निर्वाचित भएका छन् । यसअघि काँग्रेसले यस प्रदेशमा ६ जित निकालेको थियो ।

कर्णालीमा भने काँग्रेस यसपटक पहिलो पार्टी बनेको छ । कर्णालीका कूल १२ सिटमध्ये यसअघि ४ सिटमा जितेको काँग्रेस यसपटक काँग्रेसले ५ स्थानमा जित विजयी भएको छ । काँग्रेसबाट हुम्लामा जयपति रोकाया, मुगुमा खड्गबहादुर बुढा, दैलेखबाट बासना थापा निर्वाचित भएका छन् । यस्तै जाजरकोटबाट खडकबहादुर बुढा, सुर्खेतबाट विष्णुबहादुर खड्का विजयी भएका छन् ।

यस्तै सुदुरपश्चिममा काँग्रेसले १६ सिटमध्ये ३ सिटमै चित्त बुझाउनु परेको छ । काँग्रेसबाट बाजुरामा जनक राज गिरी, अछाम–१ मा भरत कुमार स्वाँर र डोटीमा भरत कुमार खड्का विजयी भएका छन् ।

सुदूरपश्चिममा यसअघि २०७९ को निर्वाचनमा काँग्रेसले ८ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ ।